my image

परिचय
प्रा.डा. कपिल लामिछाने एक विशिष्ट प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ। पोखरा - २८, माझठाना, कास्कीमा २०१५ सालमा पिता शुकदेव र माता सुकुमायाका सुपुत्रका रूपमा जन्मेका लामिछाने २०४१ सालदेखि रूपन्देहीको भैरहवामा बस्दै आउनुभएको छ। उहाँले प्राध्यापन, साहित्य सिर्जना र लेखनको मूल थलो पनि भैरहवालाई नै बनाउनुभएको छ।

त्रि. वि. बाट नेपाली विषयमा स्नातकोत्तर (प्रथम श्रेणीमा प्रथम) र गाउँखाने कथामा विद्यावारिधि गर्नुभएको लामिछानेले लामो समयदेखि साहित्यिक, शैक्षिक र प्राज्ञिक नेतृत्व लिई आउनुभएको छ। विभिन्न साहित्यिक, सामाजिक र सांस्कृतिक संघसंस्थामा आबद्ध लामिछाने प्रश्रित प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष (२०६८-‍...), नेपाल प्रज्ञा-प्रतिष्ठानका सभासदस्य (२०७५-२०७९), नेपाल बालसाहित्य समाजका उपाध्यक्ष (२०८०-२०८२) हुनुहुन्छ।

उहाँका २०३४ देखि कविता, २०४१ देखि एकाङ्की, २०४२ देखि समालोचना र कथा, २०४४ देखि लघुकथा र २०४५ देखि बालकथा प्रकाशित हुँदै आएका छन्। सिर्जना, समालोचना, अनुसन्धान र सम्पादन गरी २०७९ सम्ममा उहाँका साठीभन्दा बढी पुस्तकहरू प्रकाशित भएका छन्। वहाँले नेपाली गाउँखाने कथा, नेपाली बौद्ध साहित्य, मुस्लिम संस्कारगीत, नेपाली कथामा कृषिजीवन, नेपाली साहित्यमा शकुन्तलोपाख्यान आदि विषयमा अनुसन्धान गर्नुभएको छ। उहाँका अन्यथा (२०५४), जलमानव (२०६१), बोन्साइ (२०६८), विस्थापन (२०७५) र अणिमा (२०७९) गरी पाँच लघुकथासङ्ग्रह प्रकाशित भएका छन्। नेपाली लघुकथाको सिर्जना, समालोचना, प्रशिक्षण र सिद्धान्त स्थिरीकरणमा लामिछानेको अहम् भूमिका छ। साहित्य सिर्जनामा लामिछानेको विशेष योगदान छ भने लोकसाहित्य र त्यसमा पनि गाउँखाने कथाको स्थलगत सङ्कलन र अध्ययन तथा लोकगाथा, लोकगीत र लोककथाको अध्ययनमा उहाँको योगदान उल्लेख्य रहेको छ। शैक्षिक उत्कृष्टता, साहित्य सिर्जना तथा निष्काम प्राज्ञिक कार्य गरेवापत् उहाँलाई विभिन्न पदक, पुरस्कार र सम्मान प्राप्त भएका छन्। ०००