1. लघुकथा : आदर्श पुरुष

  2. तीन साथी

  3. लोककथा - ऐना

  4. घर, घाट र मान्छे

  5. आरक्षण

लघुकथा : आदर्श पुरुष


“बाबू, असल मान्छे बन्नू, ठूलो मान्छे बन्नू, भगवान् श्रीराम जस्तै आदर्श पुरुष बन्नू, ... ।” मैले जानेबुझे र सम्झेसम्म सानैदेखि बुवाका मुखबाट यही यस्तै सुन्दै आएको छु । आदर्श पुरुष– आदर्श पुरुष ! मेरा हरेक प्रयास आदर्श पुरुष श्रीराम बन्ने अभिलाषाले अभिप्रेरित छन् । श्रीरामजस्तै हुबहु ठ्याक्कै इक्ज्याक्ट आदर्श पुरुष श्रीराम हुनुछ मैले ! बुवाका सहस्र शुभाशिष्, मेरा अनेकन प्रयास हुँदाहुँदै पनि खै म त्यस दिशामा आफूलार्र्ई सफल भएको पाउन्न । शैक्षिक, सामाजिक, आर्थिक व्यवस्थाभित्रका शिक्षादीक्षा, उठबस, रहनसहन, बानीबोहोरा आदि सबैलाई एकातिर पन्छाएर म कसरी आदर्श पुरुष बन्नसक्छु ? तर बुवा त्यही कुरा रट्दै र रटाउँदै हुनुहुन्छ अझै पनि कि “बाबू, श्रीरामजस्तै आदर्श पुरुष बन्नू !” ‘एक्काइसौँ शताब्दीको सङ्घारमा उभिएर कतै म बेमौसमको राग त अलापिरहेको छैन ?’ मेरो चिन्तन अचेल आदर्श पुरुष बन्ने भन्दा पनि आफ्नो त्यो लक्ष्य नै समयानुकूल छ ? भन्ने प्रश्नतिर केन्द्रित हुनथालेको छ । यस्तै प्रश्नमा चिन्तन केन्द्रित गरेर म झोक्राउँदै थिएँ । बुवा कोठामा प्रवेश गर्नुभयो । मैले साष्टाङ्ग प्रणाम गरेँ । बुवाले सदाझैँ ‘आदर्श पुरुष भएस्’ भनी आशीर्वचन दिनुभयो । तर आज अचानक मैले भनें, “बुवा, म भगवान् श्रीरामजस्तै ठ्याक्कै त्यस्तै न एक इन्च कम न एक इन्च बढी उस्तै आदर्श पुरुष भएर युग र समाजलाई हाँक्नसक्छु । त्यसका लागि म सक्षम छु, तर मलाई पनि त्यही ठ्याक्कै त्यही त्रेता युग उपलब्ध गराइदिनु प¥यो ।...” बुवा झस्किनुभयो । आश्चर्यचकित हुनुभयो, किनभने श्रीरामले आफ्ना पिताश्रीसमक्ष यस्तो प्रश्न गरेको कुरा वहाँको जानकारीमा थिएन । अनि बुवाले गम्भीर भएर भन्नुभयो, “बाबू, यसबारे म सोच्छु ।...” तर आज धेरै दिन व्यतीत भइसके, बुवाले यसबारे सोचेर मलाई जबाफ दिनुभएको छैन । –– जलमानव (२०६१) बाट

तीन साथी


तीन साथी ० सबैतिर नयाँ वर्षको धुमाधम थियो । नयाँ वर्षको स्वागतार्थ सबैमा अपूर्व उत्साह देखिन्थ्यो । सारै मिल्ने साथी क, ख, ग पनि नयाँ वर्ष मनाउन आतुर भए । वर्षको अन्तिम साँझ क उत्साहित हुनुको सट्टा उदास र खिन्नमना देखियो । टोलाएर एक्लै एउटा कुनामा बसेको थियो । त्यो देखेर खले उसको उदासीको कारण सोध्यो, “ए के भो तँलाई ? के छाँट हो यो ? के छाँटा पारेको यो ? नाटक नगर् त ।” कले भन्यो, “साथीहरू ! नाटक गरेको होइन । तिमीहरूसँगको यो मेरो अन्तिम साँझ हो । भोलि सूर्योदयसँगै म त तिमीहरूबाट टाढा भइहाल्छु । हुँ !” उसले रुँला जस्तो अनुहार बनायो । खले भन्यो, “बस्, यत्तिमै दुखी भएको ? एक साल पर्खिन, म पनि त भूत भएर तँसँग भेट्न आइहाल्छु नि । अनि त तँ र म सँगै भइहाल्छौँ ।” खका कुरा सुनेर ग त केही आश्वस्त भयो, तर क र खलाई ग एक्लै पर्नेछ भनी चिन्ताले छायो । गले भन्यो, “साथीहरू ! दुखमनाउ नगर । बस्, एक वर्ष अरू पर्ख । त्यसपछि त म पनि तिमीहरूसँगै हुनेछु । हामीहरू फेरि सँगै हुनेछौँ ।” “ए ! हगि ?" तीनै साथीहरूको अनुहार उज्यालियो । अनि उनीहरूले उत्साहका साथ नयाँ वर्ष मनाउन थाले । ०००

लोककथा - ऐना


प्रस्तुति - डा. कपिल लामिछाने ० एकादेशमा एउटा सानो सुखी परिवार थियो । परिवारमा बा, आमा, छोरा र बुहारी थिए । त्यस देशमा तबसम्ममा ऐनाको प्रचलन आइसकेको थिएन । केही समयपछि एक दिन अकस्मात् बाको निधन भयो । बाको काजकिरिया सकेपछि एक दिन छोराचाहिँ घर फर्किँदै थियो । बाटामा उसले एउटा वस्तु (ऐना) देख्यो र त्यसलाई उठाएर हेर्‍यो । हेरेपछि उसले मनमनै सोच्यो, ;ओहो मेरा बाको तस्बिर रहेछ । उसले त्यसलाई घरमा ल्यायो र आफ्नो बाकसमा जतनसाथ राख्यो । जबजब उसलाई बाको याद आउँथ्यो, तबतब ऊ त्यसलाई हेर्थ्यो । उसकी श्रीमतीले उसले बेलाबेलामा लुकीलुकी कुनै वस्तु हेरेको देखी । उसलाई बुढाले के हेर्दा रहेछन् भन्ने उत्सुकता जागिरह्यो । एक दिन ऊ नभएका बेलामा बाकस उघारेर सुटुक्क हेरी । त्यसमा एउटी तरुनी केटीको फोटो देखी । आफू हुँदाहुँदै अर्की तरुनीको तस्बिर राखेकोमा ऊ लोग्नेमाथि झनक्क रिसाई । त्यत्तिकैमा त्यहाँ सासूआमा आइपुगिन् र रिसले आगो भएकी बुहारीलाई देखिन् । उनले बुहारीलाई रिसाउनुको कारण सोधिन् । बुहारीले आफू हुँदाहुँदै अर्की केटीको फोटो लुकाएर राखेको गुनासो गरी र त्यो सासूआमालाई पनि दिई । सासूआमाले त्यसलाई हेरिन् । उनले हेरेर भनिन्, "मोरो, राख्नुराख्नु अलिक तरुनी आइमाईको फोटो त राख्नुपर्छ नि । बुढी आइमाईको फोटो पो राखेर मरेछ । थुक्क मोरा ! ०००

घर, घाट र मान्छे


छिमेकीको देहान्त भएको थियो । उनीहरू सक्रिय भई दाहसंस्कार सकेर घरतर्फ फर्किदै थिए । जलेका ठुटा मुढाहरूको दृश्य र मसाने गन्धबाट उनीहरू उकुसमुकुस भइसकेका थिए । त्यसबाट अब भने टाढिँदै थिए । एउटा असल सामाजिक कार्यकर्तालाई अन्तिम बिदाइ गर्नुपर्दा मन भारी भइरहेको थियो । उनको प्रशंसा गर्दै उनीहरू बाटो काट्न थाले । “उनी सारै असल थिए । कहिल्यै कसैसँग उनको झगडा भएको थाहा छैन ।” “उनले कहिल्यै कसैको कुभलो चिताउनसम्म पनि चिताएनन् ल ।” “उनले दिल खोलेर सबैलाई सहयोग गरेथे । त्यस्तो पो मान्छे !” “त्यही भएर त म भन्छु, के लिएर आएका थियौँ अनि के लिएर जान्छौँ । कमाएको सबै यहीँ रहन्छ । एकछिनको तँ तँ र म म मात्र । ... बित्थामा !” “कुरा ठिक हो । असल कर्ममात्र साथ जान्छन् । दुनियाँले बुझे पो ।”“उनले देखाएको बाटामा हिँड्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।” “ठिक हो । दुनियाँले बुझे पो ।” उनीहरू छिमेकीका सत्कर्मको चर्चा गर्दै बाटो काट्दै थिए । अकस्मात् बाटोका छेउमै एउटा झोला देखाप¥यो । झोलामा एक्कासि दुवैका आँखा गिद्धझैँ झम्टिए । दुवै मिलेर त्यहीँ छेउमा टुक्रुक्क बसेर एकैछिनमा झोलाको फटाफट शल्यक्रिया गरे । झोलामा मोबाइल, केही नगद, औँठी, सिक्री रहेछन् । उनीहरूका आँखामा अकस्मात् खुसी छचल्कियो । उनीहरूले सबै पाईपाई हिसाब गरेर बाँडे । थोरै चित्त नबुझ्दा भनाभन पनि भयो, तर त्यो परालको आगोझैँ तुरुन्तै निभिहाल्यो । छुट्टिने बेलामा उनीहरूले मनमनै भने, “वास्तवमै उनी सारै असल मानिस रहेछन् ।” मृतक छिमेकीको असलपनको उँचाइ एक्कासि झन् बढ्यो । ठूलो उपलब्धि भएको महसुस गर्दै उनीहरू प्रसन्नचित्त बेलैमा घर पुगे । ०००

आरक्षण


०० उनी बेलुकाको खाना खाएर ओछ्यानमा मात्र पुगेका थिए । उनको मुटुको धड्कन एकाएक असामान्य भयो । उनी आरक्षणवादी नेताका रूपमा प्रसिद्ध थिए । सधैँ कार्यकर्ताबाट घेरिएका हुन्थे । आज भने साथमा बाहिरी मान्छे कोही थिएन । छुट्टीको दिन । रातको समय । पारिवारिक डाक्टर पनि छुट्टीमा थिए । नजिकमा कुनै उपयुक्त अस्पताल थिएन । घरमा हाहाकार मच्चियो । दौडादौड सुरु भयो । छोरा उच्च अध्ययनका लागि विदेश गएको थियो । श्रीमती आफैँले उनलाई हतारमा नजिकको क्लिनिकमा पु¥याइन् । क्लिनिकको ढोकैमा राखेको डाक्टरको नेमप्लेटमा उनका आँखा टिके । उनले इसाराले आफूलाई अन्तै लैजान भने । उनलाई सास फेर्न सारै गारो भइरहेको थियो । श्रीमतीले पुनः क्लिनिकभित्र लैजान चाहिन् । उनले फेरि रोके । समय कम थियो । मुटुको धड्कन बढ्दो थियो । उनी बेहोस हुने अवस्थामा पुगिसकेका थिए । त्यसैले श्रीमतीले पछि अन्यत्र लगे पनि पहिलोपटक नजिकको डाक्टरलाई देखाउनु उपयुक्त ठानिन् । उनलाई पुनः क्लिनिकभित्र लैजान सकीनसकी उठाइन् । उनले बडो मुस्किलले भने, “मलाई यहाँ भित्र नलैजाओ । बरु घरमै लैजाओ । म मर्नु मर्नु घरमै मर्छु ।” “किन ? किन ? समय छैन । यताउति गर्न ।” “मैले नाम पढेँ र चिनेँ । त्यो डाक्टर मेरै सिफारिसमा आरक्षणमा पढेर आएको हो । मलाई त्यसको औकात था’छ । मलाई मृत्युको मुखमा नलैजाऊ ।” उनको अवस्था झनै नाजुक भयो । श्रीमतीले झटपट एम्बुलेन्स झिकाइन् र हस्याङफस्याङ गर्दै उनलाई अर्को क्लिनिकतर्फ दौडाइन् । ०००