...

नेपाली साहित्यको सेरोफेरो







नेपाली साहित्यको सेरोफेरो (२०५८) कलासदन सिद्धार्थनगरबाट प्रकाशित समालोचना कृति हो । यसमा एक्काइसवटा समालोचनाहरू रहेका छन् । अनुसन्धान र शिल्पप्रविधिको प्रयोग गरेर लेखिएका यस समालोचनात्मक कृतिभित्र गद्य र पद्य दुवै फाँटका कृतिका समालोचना रहेका छन् । यथार्थवादी प्रगतिवादी दृष्टि, तर्कपूर्ण विश्लेषण उचित मूल्याङ्कन रहेको यस कृतिमा रूप पक्षमा भन्दा विचार पक्षमा गहिरिएको देखिन्छ । यहाँ कृति र कृतिकारको सैद्धान्तिक एवम् व्यावहारिक दुवै खाले समालोचना रहेका छन् । यस सङ्ग्रहमा ‘आदिकवि भानुभक्तको हास्यव्यङ्ग्यकारिता’, ‘मुनामदनको वैचारिक पक्ष’, ‘पापको परिणाम कथाको विश्लेषण’, ‘चिसो चुल्होको प्रेमविश्लेषण’, ‘निर्भीक समालोचक रामकृष्ण शर्मा’, ‘दौलत विक्रम विष्टको औपव्यासिक यात्रा’, ‘बसाइँको वैचारिक पक्ष’, ‘उपकथाले औँल्याएका सन्दर्भहरू’, ‘योजनगन्धाको आलोचना’ र ‘पराजुलीका गीतमा राष्ट्रिय सन्दर्भ’ शीर्षकका समालोचनाहरू रहेका छन् । मोहन दुवालका अनुसार लामिछाने कृतिको दुवै पक्ष वस्तु र शिल्पलाई केलाउँदै कृतिको अन्तर्वस्तु, कृतिभित्रको वैचारिक पक्षको पारख गर्नमा सफल र निपुण छन् । वस्तु र शिल्पको सन्तुलित प्रयोगले कृतिको गरिमा बढ्दछ भन्ने दृष्टि बोकेर कृतिहरूको समीक्षा गर्नमा उनले आफ्नो चेतना बढाएका छन् (जुही, २०६६, पूर्णाङ्क ६०, पृ.३०६) । समालोचक अनिरुद्ध तिमसिनाका अनुसार माक्र्सवादी वैचारिक दृष्टि बोकेका लामिछानेका सत्रवटा समालोचनात्मक कृतिका लेखहरू वैचारिक शिल्पशैलीलाई केन्द्रीय कथ्यका साथमा राखेर नेपाली साहित्यका विख्यात कवि र र तिनका कृतिभित्र रहेका वैशिष्ट्यहरूको निकै निक्र्यौल गर्ने, कृतिभित्रै पसेर शिल्पसाधनका साथ यथार्थपरक ढड्डले केलाएर गम्भीर पारख गर्ने प्रयत्न गरेका छन् (जुही, २०६६, पूर्णाङ्क ६०, पृ.५९०) । यो अहिले उपलब्ध छैन ।