...

मरभूमिका पोथ्राहरू







मरुभूमिका पोथ्राहरू (२०४४) कपिल लामिछानेको प्रथम प्रकाशित कथासङ्ग्रह हो । यसको दोस्रो संस्करण २०६२ मा प्रकाशित भएको छ । यसमा चौध कथाहरू सङ्कलित छन् । यीमध्ये सुरुका दस कथाहरू स्नातकोत्तर तह नेपाली विषयमा आठौँ पत्रको प्रयोजनका लागि सृजनात्मक लेखन कार्यका रूपमा लेखिएका र बाँकी चार कथाहरू पछि लेखिएका हुन् । यी कथामा समस्याग्रस्त, असुविधा भोगिरहेका, दमित, शोषित, विसङ्गत, पीडित पात्रहरू लिइएको छ । प्रायः सबै कथाहरूमा सहरमा बसोबास गर्ने सामाजिक अपहेलना भोगिरहेका पात्रहरूको व्यथा छ । त्यसैले यी कथाहरू सामाजिक यथार्थवादी छन् । उपेन्द्र पागलका अनुसार यस कथासङ्ग्रहका कथाहरूमा सामाजिक समस्या, बालमनोविज्ञान, यौनमनोविज्ञान, आन्तरिक द्वन्द्वहरूको सबल प्रस्तुति पाइन्छ । लामिछाने रमेश विकल, विश्वेश्वरप्रसाद, भवानी भिक्षुहरूकै गोरेटोमा रहे तापनि उनले आफ्नै शैली संरचनामा आफ्ना कथाहरू तयार पारेको पाइन्छ (जुही, २०६६, पूर्णाङ्क ६०, पृ. १९) । गोपीकृष्ण शर्माका अनुसार यस सङ्ग्रहमा देशकालको यथार्थ उपस्थापन स्वाभाविक र स्वस्फूर्त संवाद योजना निम्न वर्गको दुखेसाहरूको वस्तुगत अङ्कन र कौतूहलताको निर्वाह जस्ता पक्षहरूमा यहाँ समन्वित छन् (जुही, २०६६, पूर्णाङ्क ६०, पृ. ११२) । यस सङ्ग्रहका कथाहरूमा सहरमा भाडाको कोठामा बस्ने मनोद्वन्द्वी पात्र महेश, विपन्न वर्गको कवाड बटुल्ने सान्चा, खाते, भारी बोकेर पेट पाल्ने नाम्ले, जिते, गुइँचे, होटलमा भाँडा माझ्ने निम्न वर्गीय पात्र गौँथली, अफिसको आर्थिक हिनामिना गर्ने कर्मचारी चेतसिंह, विष्णुमती किनारमा घर बनाएर बस्ने प्राकृतिक प्रकोपबाट पीडित न्हँुछे र मैजु, अन्धविश्वासमा भर पर्दा चटकीको मारमा परेका प्रो. शर्मा, शिक्षकको दहीच्युरे नीतिबाट पीडित मन, कुसुम, धनेश्वर जस्ता विद्यार्थीहरू मरुभूमिका पोथ्राहरू झैँ टाक्सिई बढ्न नपाएका, डेरामै हुर्किएका र घरमा हुर्किएका लोग्ने स्वास्नीको द्वन्द्व, आफू भन्दा तल्ला तहकालाई हेप्ने प्रवृत्ति रहेको वीरे र प्रहरी, भारी बोकेर जीवन निर्वाह गर्ने लुरे, अन्जु जस्ता वर्गीय पात्रहरू रहेका छन् । यी कथाले निम्न वर्गको आर्थिक सामाजिक यथार्थको चित्रण गरेका छन् । यी कथा उद्देश्यमूलक र समस्यामूलक रहेका छन् । यसमा टेकबहादुर मुखियाको आवरण चित्र रहेको छ ।